डडेल्धुरा । नेपाली कम्युनिस्ट पार्टी परशुराम नगर अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ परशुरामको विकास निर्माणका योजना माग्दै सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसमक्ष निरन्तर पुगिरहेका छन्।
२२ दिनअघि मुख्यमन्त्री खगराज भट्टलाई परशुरामका ३२ जना जनप्रतिनिधि तथा नेकपाका नेता–कार्यकर्तासहित भेटेर बधाई तथा शुभकामना दिँदै नगरको बृहत्तर विकासका योजना पेस गरेका माल बुधबार फेरि भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटसमक्ष पुगेका हुन्।
मालले परशुराम धाम, दैजी–जोगबुडा, रुपाल सडक, जोगबुडा–परशुरामधाम सडक, खहरेखोला, सिँचाइ, झोलुङ्गे तथा मोटरेबल पुलसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन्।
नेकपा परशुराम नगर उपाध्यक्ष गोविन्दसिंह बोहराका अनुसार अध्यक्ष मालको नेतृत्वमा प्रदेश सरकारसँग विकास निर्माणका योजना माग गर्ने क्रम निरन्तर छ। उनका अनुसार माग गरिएका योजना व्यक्तिगत लाभका लागि नभई परशुरामको समग्र विकासका लागि हुन्।










