२९ असोज, डडेल्धुरा । चाडपर्वका बेला हुन सक्ने कालोबजारी, अनुचित मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न डडेल्धुराको आलिताल गाउँपालिकाले बजार अनुगमन गरेको छ।
गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावल (बोहरा)को नेतृत्वमा बिहीबार असोज २९ गते गोदाम, घुम्ती र मौरी बजार क्षेत्रमा अनुगमन गरिएको हो।
जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकार सहभागी टोलीले बजारमा सञ्चालित पसलहरूको निरीक्षण गर्दै खाद्यवस्तुको गुणस्तर, म्याद, व्यवसाय दर्ता तथा नवीकरणको अवस्थाबारे जानकारी लिएको थियो।
उपाध्यक्ष रावलका अनुसार चाडपर्वको समयमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सामग्री उपलब्ध गराउनुका साथै बजारमा हुन सक्ने अनियमितता रोक्न अनुगमन गरिएको हो।
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशी, कृषि शाखा प्रमुख लक्ष्मण कामी, स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्री, भेटेरिनरी शाखा प्रमुख धनबहादुर क्षेत्री, सूचना शाखा प्रमुख नवराज ओझा, वरिष्ठ प्रशासन सहायक जयप्रकाश पैतोला तथा वडा अध्यक्ष धनबहादुर देउवालगायत सहभागी थिए।
गाउँपालिकाले चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकतामा राख्दै गुणस्तरीय वस्तु उचित मूल्यमा बिक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गरेको छ।










