काठमाडौं : ठूला वित्तीय अपराधमा संलग्न रहेको आरोपमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई छुटाउन ३० करोड रुपैयाँको ‘सेटिङ’ मिलाउन खोजेको आरोपमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन्।
काठमाडौं प्रहरीले शनिबार ललितपुरबाट सुशीललाई पक्राउ गरेको हो। सुदूरपश्चिमको डडेल्धुरा घर भएका उनी थुनामा रहेका दीपक भट्टका दाइ पनि हुन्। पक्राउपछि उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको प्रकरणमा पक्राउ परेका बिचौलिया इनम सापकोटाको बयानका आधारमा सुशीललाई पक्राउ गरिएको हो।
सापकोटाले प्रहरीसमक्ष दिएको भनिएको बयानमा सुशील भट्टमार्फत ३० करोड रुपैयाँ दिने र अदालतमा सेटिङ मिलाएर दीपकलाई छुटाउने सहमति भएको उल्लेख गरेका छन्।
काठमाडौं प्रहरीको हिरासतमा रहेका सापकोटा र सुशीलबीच आर्थिक कारोबार भएको विवरणसमेत अनुसन्धानका क्रममा देखिएको प्रहरी स्रोतको दाबी छ।
सोही कारोबार र दीपकलाई थुनामुक्त गराउन भएको भनिएको चलखेलबारे अनुसन्धान गर्न सुशीललाई पक्राउ गरिएको हो। सापकोटामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्बन्ध प्रयोग गरेर विभिन्न मुद्दामा चलखेल गरेको आरोपसमेत उनीमाथि लागेको छ। प्रहरी स्रोतका अनुसार सापकोटाले आफ्नो बयानमा दीपक भट्टलाई छुटाउन भएको भनिएको आर्थिक लेनदेन र अदालतमा प्रभाव पार्ने प्रयासबारे थप विवरण दिएका छन्।
उक्त प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ। ठूला वित्तीय अपराधमा संलग्न रहेको आरोप लागेका दीपक गत चैतदेखि थुनामा छन्।
उनलाई थुनामुक्त गराउन पछिल्लो समय विभिन्न तहबाट चलखेल भइरहेको आशंकामा सरकारले समेत छानबिन अघि बढाएको छ।










