डोटी । रसुवा जिल्लाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि डोटीको जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार सहयोग रकम स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक र विद्यालय कर्मचारीबाट संकलन गरिनेछ। स्थानीय विपद् व्यवस्थापन कोषबाट २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र गाउँपालिकाका जनप्रतिनिधिहरूको १५ दिनको सेवा–सुविधाबापत २ लाख ७ हजार ९ सय ५२ रुपैयाँ उपलब्ध गराइनेछ।
त्यस्तै, अधिकृतस्तरका कर्मचारीबाट ७ दिन, सहायकस्तरका कर्मचारीबाट ५ दिन र श्रेणीविहीन कर्मचारीबाट २ दिनको तलब बराबर गरी ७ लाख ६० हजार ८ सय ४१ रुपैयाँ सहयोग संकलन गरिने गाउँपालिकाले जनाएको छ।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट भने २१ लाख ४ हजार २ सय ९३ रुपैयाँ सहयोग गरिने भएको छ। यी सबै रकम जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने सहयोग ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ पुग्नेछ।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जारी गरेको विज्ञप्तिमा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबाट भइरहेका प्रयासमा गाउँपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।










