रुपन्देही । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विभिन्न जिम्मेवारीमा रहेका १३ जना नेताहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।
केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’ सहित १३ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । यो क्षेत्रलाई पार्टीले बलियो क्षेत्र दाबी गर्दै आएको थियो । रोल्पाको गङ्गादेव गाउँपालिका निवासी वलीसहित १३ जनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य नन्दे वली ‘मङ्गल’, जिल्ला सदस्य पूर्णबहादुर वली, गाउँपालिका सदस्य धनबहादुर केसी, तिलक महरा, मनवीर घर्ती, लोकेन्द्र डाँगी, युवा सङ्गठन नेपालका गाउँपालिका सदस्य रुद्र केसी, हिरालाल वली, कमल वली, निर्मण वली र लेखनाथ डिसीलगायत रहेका छन्।
पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा, सङ्गठनात्मक गतिविधि तथा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूले पार्टी परित्याग गरेको उनीहरूले बताएका छन्। पार्टी परित्याग गरेका वलीसहितका नेताहरूले सिलु नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्।
यसअघि रुपन्देहीका वसन्त श्रेष्ठ, शरद वलीलगायतका नेताहरूले पनि विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरेका थिए। पार्टीका महासचिव रहेका विप्लवले एकपछि अर्कोलाई कारबाही गर्दै गएपछि यसबाट विद्रोह गरेर अर्को पार्टी बनाएका छन् ।










