भाद्र ३, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको खुलेको प्रहरीले जनाएको छ।
बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित एक घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा जितपुरसिमरा–२ निवासी करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर घटनास्थलमा लगेको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी गरिएको छ।










