साउन १५, धनगढीः सुदूरपश्चिममा सरकार परिवर्तनको प्रक्रिया अघि बढिरहेका बेला भावी मुख्यमन्त्रीका रूपमा चर्चामा रहेका नेकपा संसदीय दलका नेता खगराज भट्टलाई आफ्नै पार्टीभित्रबाट पर्याप्त समर्थन नरहेको दाबी गरिएको छ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल राजीनामा नदिई विश्वासको मतसम्म जाने अडान लिएका छन्। यसले नयाँ सरकार गठन केही समय पर धकेलिएको छ। तर, सरकार गठनको ढिलाइ मात्रै होइन, भट्टको नेतृत्वमाथि पार्टीभित्रै उठिरहेको असन्तुष्टिले पनि उनको मुख्यमन्त्री बन्ने सम्भावनालाई पेचिलो बनाएको छ। अब शाहले विश्वासको मत नै नलिए पनि साउन ३० सम्म कुर्ने तयारी छ।
यसअघि तत्कालीन माओवादी केन्द्रमा पनि भट्टले आफ्नै पार्टीका बहुमत सांसदको साथ गुमाएका थिए। बहुमत सांसदले उनलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई दलको नेता चयन गरेका थिए। केन्द्रको पटक–पटकको हस्तक्षेपपछि मात्रै भट्ट पुनः संसदीय दलको नेतामा फर्किएका थिए।
अहिले पनि मन्त्री पदको आकांक्षा, समूहगत स्वार्थ र वैकल्पिक नेतृत्वको चर्चाका कारण भट्टविरुद्ध केही सांसद असन्तुष्ट रहेको चर्चा छ। यद्यपि नेकपाका केही नेताले भने अन्ततः भट्टकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै अहिले मन्त्रालय बाँडफाँट र मन्त्री छनोटकै विषयमा आन्तरिक छलफल भइरहेको बताएका छन्।
उता नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित बढीमा तीन मन्त्रालय पाउने सम्भावना छ । तर २० सांसद, तीन फरक राजनीतिक समूह र दर्जनौँ आकांक्षीलाई सीमित मन्त्रालयमा व्यवस्थापन गर्नु चुनौतीका रूपमा देखिएको तीन नेताले बताए । माओवादी पृष्ठभूमिका प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, अक्कलबहादुर रावल, शिवसिंह ओली, झपट साउद, रमेश धामी पनि मन्त्रीको दौडमा छन् । महिला तथा समावेशी प्रतिनिधित्वतर्फ लक्ष्मी विक र जानकी ऐरले पनि दाबी गरिरहेका छन् । स्रोतका अनुसार पूर्वदल नेता मानबहादुर धामी सकेसम्म मुख्यमन्त्री र त्यो सम्भव नभए अर्थमन्त्री बन्ने प्रयासमा छन् । यस्तै एकीकृत समाजवादी पृष्ठभूमिका प्रकाश रावल मन्त्रीका दाबेदार छन् । नेकपामा समाहित नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट आएका सातै सांसद मन्त्री बन्ने दौडमा छन् । नाउपाकै एक समूले त चौधरी समुदायबाट प्रदेशको मुख्यमन्त्री बन्नुपर्ने भन्दै लविङ गरिरहेका छ ।
| यो पनि पढ्नुहोस्ः |
मुख्यमन्त्रीको कुर्सीमा नेकपा भित्रै तानातान, भट्ट र घामी आमनेसामने










