डोटी । हिजो परेको भारी असिनाले डोटीको शिखर नगरपालिका–५ मा ठूलो क्षति पुर्याएको छ। असिनाले करिब २ हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको स्थानीयले बताएका छन्।
पाक्ने अवस्थामा पुगेको धान असिनाले झारिदिएपछि किसानहरू चिन्तित बनेका छन्। वर्षभरको मेहनतपछि भित्र्याउने तयारीमा रहेको धानबाली नष्ट भएपछि किसानलाई ठूलो आर्थिक क्षति भएको स्थानीयको भनाइ छ।
स्थानीय चन्द्र बोहराका अनुसार शिखर नगरपालिका–५ मात्रै नभई पालिकाका अन्य ठाउँमा समेत असिनाले धानबालीमा ठूलो क्षति पुर्याएको छ। कतिपय ठाउँमा धान खेतमै झरेर नष्ट भएको बताइएको छ।
असिनाका कारण भएको क्षतिको यकिन विवरण भने संकलन हुन बाँकी छ। किसानहरूले सम्बन्धित निकायसँग स्थलगत निरीक्षण गरी क्षतिको मूल्यांकन र राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।










