डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थित बलौचा टोलमा फेरि जमिन चर्किएर भासिन थालेको छ। थिए । भास्सिँदा केही ठाउँमा करिब ५० मिटरसम्म तल सरेको स्थानीयले बताएका छन्।
आलिताल गाउँपालिका–७ का वडा सदस्य अमरबहादुर धामीका अनुसार २०७७ सालपछि बलौचा क्षेत्रमा पुनः जमिन चर्किने र भासिने समस्या देखिएको हो। पछिल्लो समय जमिन निरन्तर धसिँदै गएपछि स्थानीय त्रसित बनेका छन्।
जमिन भास्सिँदा हालसम्म ३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३ वटा बाख्राका खोरमा क्षति पुगेको छ। थप ५ वटा घर उच्च जोखिममा रहेका वडा सदस्य धामीले बताए।
उनका अनुसार केही घर तथा गोठ आफ्नो पुरानो स्थानबाट करिब ५० मिटरसम्म तल सरेका छन्। जमिन चर्किने र धसिने क्रम अझै रोकिएको छैन।
यसअघि २०७७ सालमा पनि आलिताल–७ का बलचौर, कोईराली, खिन्नेभाडी र बबाच लगायतका क्षेत्रमा चुरेबाट खसेको पहिरोका कारण ३५ परिवार विस्थापित भएका थिए। त्यतिबेला ७५ भन्दा बढी घरधुरी उच्च जोखिममा रहेका थिए।
उक्त स्थानको बस्ति अन्यन्त्र सार्न खोजिए पनि विभिन्न प्रक्रियागत झमेलाले अहिले सम्म सो काम सफल हुन सकेको छैन् ।










