७ असोज, डडेल्धुरा । डडेल्धुरा अस्पतालले आन्द्रामा समस्या रहेको भन्दै अप्रेसन गर्नुपर्ने बताएको ४ वर्षीय बालक सेती प्रादेशिक अस्पताल धनगढीमा जाँच गर्दा सामान्य अवस्थामा रहेको पाइएको छ।
अमरगढी नगरपालिका–९ का मीन पालका अनुसार उनका ४ वर्षीय छोरालाई ज्वरो र पेट दुखेपछि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पतालले सुरुमा एक–दुई दिनको औषधि दिएर घर पठाएको पालले बताए।
औषधि सेवन गरेपछि ज्वोरो निको भएपनि बालकको पेटको समस्या सुधार नआएपछि पुनः डडेल्धुरा अस्पतालमै जाँच गराउँदा चिकित्सकले आन्द्रामा समस्या रहेको र अप्रेसन गर्नुपर्ने भन्दै धनगढीस्थित माया मेट्रो अस्पतालमा लैजान सुझाव दिएको पालको भनाइ छ।
आर्थिक अवस्था कमजोर भएकाले माया मेट्रो अस्पतालमा उपचार गराउन नसकेपछि पालले बालकलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगेका थिए।
सेतीमा चिकित्सकले बालकको स्वास्थ्य परीक्षण गरेपछि भने आन्द्रामा कुनै समस्या नरहेको र बालक सामान्य अवस्थामा रहेको बताएको पालले जानकारी दिए।
एउटै स्वास्थ्य समस्यामा दुई अस्पतालबाट फरक–फरक सुझाव पाएपछि आफू अन्योलमा परेको पालले बताए। उनले डडेल्धुरा अस्पतालले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् ।










