डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको शिक्षा विकास निर्देशनालय, दिपायल सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयको कार्यसम्पादन परीक्षणमा उत्कृष्ट देखिएको छ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) ले विभिन्न सूचकका आधारमा गरेको कार्यसम्पादन परीक्षणमा सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयले ८३.३७ अंक प्राप्त गरेको हो।
प्राप्ताङ्कका आधारमा सुदूरपश्चिम पहिलो स्थानमा रहेको छ। कार्यसम्पादन परीक्षण मार्गदर्शनअनुसार ८३.३७ अंकलाई ‘धेरै राम्रो’ स्तरमा राखिएको छ।
प्रदेशगत रूपमा बागमतीले ८०.८७, कर्णालीले ७१.०३, गण्डकीले ६६, लुम्बिनीले ५७.९१, कोशीले ४९.७१ र मधेशले ३९.५१ अंक प्राप्त गरेका छन्।
समग्र कार्यसम्पादन स्तरअनुसार सुदूरपश्चिम र बागमती ‘धेरै राम्रो’, गण्डकी र कर्णाली ‘राम्रो’, कोशी र लुम्बिनी ‘सामान्य वा सन्तोषजनक’ तथा मधेश ‘कमजोर’ श्रेणीमा रहेका छन्।
सर्वोत्कृष्ट अंक प्राप्त गरेपछि शिक्षा विकास निर्देशनालय दिपायलका महानिर्देशक दुर्गादत्त बिष्टले कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन्। उनले आगामी दिनमा अझ प्रभावकारी र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्देशनालयले कार्यसम्पादनमा सहयोग र समन्वय गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालयका पदाधिकारी तथा अन्य सरोकारवालालाई समेत धन्यवाद दिएको छ।










