डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–३ बण्डलेस्थित स्यालचौडी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आलिताल गाउँ कमिटीका सदस्य तथा पार्टीका क्रियाशील सदस्य प्रतापबहादुर धामी चयन भएका छन्।
विद्यालय व्यवस्थापन समिति गठनका क्रममा धामी अध्यक्ष बनेपछि उनको राजनीतिक आबद्धतालाई लिएर प्रश्न उठेको छ। राजनीतिक दलमा आबद्ध व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने शिक्षा नियमावलीको व्यवस्थाविपरीत धामी अध्यक्ष बनेको भन्दै स्थानीयस्तरमा विवाद उत्पन्न भएको हो।
रास्वपाको सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ ।
गत बिहीबार स्वीकृत शिक्षा नियमावली १०औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ ।
विव्यस अध्यक्ष बनेका धामीको पार्टी सदस्यता

‘विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा पाँच वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्यता नलिएको,’ संशोधित नियमावलीमा भनिएको छ ।
आलिताल गाउँपालिकाको शिक्षा शाखाका अधिकृत देवराज पन्तले राजनीतिक दलमा आबद्ध व्यक्तिहरू सहभागी भएर गरिएको निर्णय कार्यान्वयन नहुने बताएका छन्। त्यस्तो अवस्थामा विद्यालय व्यवस्थापन समिति बर्खास्त गरिने उनको भनाइ छ।
‘राजनीतिक दलमा आबद्ध व्यक्तिले विद्यालय व्यवस्थापन समितिमा बसेर गरेको निर्णय कार्यान्वयन हुँदैन,’ अधिकृत पन्तले भने, ‘त्यस्तो समिति बर्खास्त हुन्छ।’
यता, अध्यक्षमा चयन भएका धामीले भने आफूलाई अभिभावकहरूले नै अध्यक्ष बन्न आग्रह गरेपछि जिम्मेवारी स्वीकार गरेको बताएका छन्। गाउँमा अध्यक्ष बन्न योग्य व्यक्ति नभएपछि अभिभावकहरूले आफूलाई अध्यक्ष बन्न दबाब दिएको उनको दाबी छ।
धामी रास्वपा आलिताल गाउँ कमिटीका सदस्य तथा पार्टीका क्रियाशील सदस्य रहेको आफैले पनि स्विकारेका छन् ।
यसैबीच, राजनीतिक दलमा आबद्ध व्यक्तिको विद्यालय व्यवस्थापन समितिमा सहभागितासम्बन्धी नियमको पालना र समिति गठनको वैधानिकताबारे स्थानीय शिक्षा शाखाले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।











