साउन १६, धनगढीः नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रदेशमा सरकार परिवर्तनको विषयलाई अनावश्यक रूपमा विवादित नबनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बहुमत गुमाइसकेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको बहिर्गमनपछि नेकपा संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्ने बताएका छन्।
सरकार गठनलाई ‘मिडिया ट्रायल’को विषय नबनाई पार्टीको नीति, अनुशासन र एकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। उनले वामपन्थी सहकार्य परिवर्तनको रक्षा र राष्ट्रिय हितका लागि भएको भन्दै सबैलाई पार्टीको निर्णयअनुसार अघि बढ्न आग्रह गरेका छन् ।
यस्तो छ उनको फेसबुक स्ट्याटसः
मुलुक एकातिर जटिल परिस्थितिबाट गुज्रिरहेको छ भने अर्कोतिर संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका उपलब्धिमाथि निरन्तर प्रहार भइरहेको छ। यस्तो बेला सामान्य राजनीतिक प्रक्रियालाई अतिरञ्जित गरेर मिडियाको खपतको विषय बनाउनु बुद्धिमानी होइन।
सुदूरपश्चिम प्रदेशमा बहुमत गुमाइसकेको माननीय मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारको बहिर्गमनसँगै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता माननीय खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्ने छ। यसलाई अनावश्यक विवाद र मिडिया ट्रायलको विषय बनाउनु भन्दा पार्टीको नीति, निर्णय, अनुशासन र राजनीतिक संस्कारलाई सम्मान गर्दै एकताबद्ध हुनु आवश्यक छ।
पार्टी संयोजक कमरेड प्रचण्डले अघि बढाउनुभएको वामपन्थी सहकार्य केवल सत्ता समीकरण होइन, परिवर्तनको रक्षा र राष्ट्रिय हितको रणनीतिक अभियान हो। त्यसैले व्यक्तिगत आग्रहभन्दा माथि उठेर पार्टीको मार्गनिर्देशन र जनताको हितलाई केन्द्रमा राख्दै एकताबद्ध भएर अगाडि बढौं। यही आजको आवश्यकता र जिम्मेवारी हो।