डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयका शिक्षक भागिराम चौधरीले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्।
चौधरीका अनुसार स्थानीय गणेश भुल, गोविन्द बिनाडी र नरबहादुर थापाले आफूलाई धम्की दिएको भन्दै उनले प्रहरी, गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा उजुरी दिएका छन्। उनीहरूले खुकुरी र काठका मुडा बोकेर आफूलाई भौतिक आक्रमण गर्न आएको चौधरीको आरोप छ।
आफूमाथि आक्रमण हुन सक्ने डरका कारण चौधरी हाल आफ्नो घर बर्दियामा रहेको बताएका छन्। उनी २०८० पुसदेखि जोराघाट माध्यमिक विद्यालयमा कार्यरत छन्।
विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले राजीनामा दिएपछि सहायक प्रधानाध्यापकसमेत रहेका चौधरी प्रधानाध्यापक बन्न सक्ने अवस्थालाई लिएर विवाद सुरु भएको बताइएको छ। तर गाउँपालिकाले शिक्षक देवबहादुर कुँवरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको छ।
गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले घटनाबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताएका छन्। शिक्षा शाखा प्रमुख चेतराज बिनाडीले शिक्षकको सुरक्षाको जिम्मेवारी स्थानीय तहको समेत भएकाले घटनालाई गम्भीर रूपमा लिइने बताएका छन्।
चौधरीले आफू अहिले असुरक्षित महसुस गरिरहेकाले विद्यालय फर्किन नसकेको बताएका छन्। उनले आफूमाथि आक्रमणको प्रयास र धम्की दिएको आरोप लागेका व्यक्तिमाथि छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।










