डडेल्धुरा । किसान नेता तथा शहिद भिमदत्त पन्तको ७४औँ स्मृति दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। अमरगढी नगरपालिका–२ कारिगाउँमा वि.सं. १९८३ मंसिर १० गते आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्रका रूपमा जन्मिएका पन्तले किसान, गरिब, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि जीवनभर संघर्ष गर्नुभयो।
वि.सं. २००७ सालको क्रान्तिपछि पनि उहाँले सामन्ती शोषण, सामाजिक विभेद र अन्यायविरुद्ध आन्दोलनलाई निरन्तरता दिनुभयो। “कित जोत हलो, कित छोड थलो, यदि होइन भने हुनेछैन भलो” भन्ने नारासहित उहाँले जोताहा किसानको हकअधिकारका पक्षमा सशक्त अभियान सञ्चालन गर्नुभएको थियो।
जातीय विभेद अन्त्यका लागि समेत उहाँले साहसिक कदम चाल्नुभएको थियो। संघर्षकै क्रममा दलित समुदायका जयदासको हातबाट पानी पिएर छुवाछूतविरुद्ध सन्देश दिनुभएको उल्लेख गरिन्छ। दलित अधिकारकर्मी चक्र दमाईका अनुसार उच्च ब्राह्मण परिवारमा जन्मिए पनि पन्तको आन्दोलन दलित, भूमिहीन र उत्पीडित समुदायको मुक्तिका लागि केन्द्रित भएकाले उहाँको योगदान सधैं स्मरणीय रहनेछ।
वि.सं. २००९ सालमा कञ्चनपुरको ब्रह्मदेवस्थित नुन गोदाम कब्जा गर्दै उहाँले नेपाल र भारत दुवै देशका तत्कालीन शासकविरुद्ध आन्दोलन गर्नुभएको थियो। आन्दोलनकै क्रममा उहाँका दुई छोरा र एक छोरीको असामयिक निधन भएको थियो।
पन्तले तत्कालीन डडेल्धुराका प्रशासक बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर करिब चार महिनासम्म जनपक्षीय प्रशासन सञ्चालन गर्नुभएको इतिहासमा उल्लेख छ। उहाँले गाउँदै हिँड्ने, “बम्बै जान्या रेलगाडीमा, दिल्लीको माल आयो, गरिबका दिन आया, ठालुको काल आयो” भन्ने गीतका हरफ आज पनि सुदूरपश्चिमका गाउँबस्तीमा चर्चित छन्।
भारतको उत्तर प्रदेशमा संस्कृत विषयमा हाईस्कुल तहसम्म अध्ययन गर्नुभएका पन्तलाई गीता र मार्क्सवादी दर्शनको राम्रो ज्ञान थियो। उहाँले निडरतापूर्वक सामन्तहरूका तमसुक च्यात्दै गरिब, किसान र दलित समुदायको पक्षमा सशक्त आन्दोलन सञ्चालन गर्नुभयो।
वि.सं. २०१० साउन १७ गते डडेल्धुरा र डोटीको सीमावर्ती गल्लेक क्षेत्रमा रहेको एक घरमा पन्त लुकेको सूचना पाएपछि नेपाल र भारतका सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए। हाल डडेल्धुराको आलिताल गाउँपालिका–४ मा पर्ने गल्लेकमा उहाँको हत्या गरिएको ऐतिहासिक विवरणहरूमा उल्लेख छ। त्यसपछि उहाँको टाउको काटी तत्कालीन डडेल्धुरामा सार्वजनिक रूपमा प्रदर्शन गरिएको र शरीर काठमाडौं पठाइएको बताइन्छ।
“पिछाउडीका चालमुनि बाध्याको जैफल,
मुन्टो काटी डडेल्धुरा, धड काटी नेपाल।”
यो लोकभाका आज पनि भीमदत्त पन्तको बलिदानसँग जोडेर गाइने गरिन्छ।
पन्तका भाइ यदुनाथ पन्तले त्यतिबेलाको घटना सम्झँदै भन्नुहुन्छ, “दाइको पार्थिव शरीर राज्यसँग मागेर दाहसंस्कार गर्नसमेत निकै कठिन भयो। म र भाउजू हिउँदको कठ्याङ्ग्रिने चिसोमा पैदल यात्रा गर्दै हरिद्वार पुग्यौं र करिब १५ दिनपछि दाहसंस्कार सम्पन्न गर्न सफल भयौं।”
उहाँका अनुसार दाइले सधैं भन्ने गर्नुहुन्थ्यो, “धनीले गरिबलाई धेरै सताएको छ।” केवल २७ वर्षको कलिलो उमेरमै भीमदत्त पन्तले गरेको संघर्ष र सामाजिक परिवर्तनको अभियान असाधारण मानिन्छ।
उहाँको योगदानको कदर गर्दै नेपाल सरकारले २०७२ फागुन १९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट भीमदत्त पन्तलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो।
पन्तको सम्मानस्वरूप कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको छ। धनगढी–डडेल्धुरा राजमार्गलाई भीमदत्त राजमार्ग नामकरण गरिएको छ। वैतडीको पाटनमा भीमदत्त बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ। उहाँको जीवनमा आधारित ‘भीमदत्त’ नेपाली चलचित्र निर्माण भएको छ भने जन्मस्थल कारिगाउँमा भीमदत्त पन्त स्मृति प्रतिष्ठान स्थापना गरिएको छ।










